द हिमाल वर्ल्ड
दार्जीलिङ, 9 फरवरी
नालन्दा ट्रेडिसन काउन्सिलका सदस्यहरूद्वारा 9 फरवरी आइतवार भारतको हिमाली क्षेत्र दार्जीलिङमा नालन्दा बौद्ध धर्ममाथि एउटा राष्ट्रिय संगोष्ठी एवम् कार्यशालाको आयोजना गरियो। दार्जीलिङ मलरोड स्थित गोर्खा रंगमञ्च भवन हलमा सम्पन्न यस संगोष्ठीमा पार्थ सारथी नोयडाका एकाडेमिक अफिसर सम्मानित अतिथिका रूपमा उपस्थित भने विशिष्ट अतिथिमा टासिडिङ मोनास्ट्री सिक्किमका रिम्पोर्छे खेन्चेन ल्हा छिरिङ, दार्जीलिङका विधायक निरज जिम्बा लगायत अन्यान्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत वक्तव्य Indian Himalayan Buddhist Council of Nalanda Tradition IHCNBT-का उपाध्यक्षले राखे भने संगोष्ठी एवम् कार्यशालामाथि संस्थाका सचिव मालिङ गोम्बुले प्रकाश पारे।
21औं शताब्दीमा उदीयमान प्रवृत्ति, विकास अनि बौद्ध शिक्षाको पाठ्यक्रमलाई भारत सरकारको शिक्षा मन्त्रालयको NIOS शिक्षा बोर्डले मान्यता दिएको छ। संगोष्ठीको उद्देश्य हिमालय क्षेत्रमा नालन्दा बौद्ध धर्मको समृद्ध विरासत र समकालीन प्रासंगिकताका साथसाथै आधुनिक युगमा भिक्षु अथवा मठ शिक्षाको विकसित परिदृश्यमा गहिरो अध्ययन गर्नु रहेको बताइएको छ।
नयाँ पाठ्यक्रम आउँदो मार्च महिनादेखि उत्तर बंगालका विभिन्न भागहरूमा रहेका सबै सम्बद्ध गुम्बाहरूमा शुरु हुने अनि यो राष्ट्रिय शिक्षा नीति २०२० -को मापदण्ड अन्तर्गत हुने बताइएको छ।
उल्लेखनीय छ, विशेष गरेर भारतका हिमाली क्षेत्रहरूमा भारतीय हिमालयन बौद्ध परिषद् नालन्दा परम्पराले बौद्ध धर्मको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाउँदै आइरहेछ। पश्चिम बंगाल राज्यमा लगभग १२ लाख जति बौद्ध धर्मावलम्बीहरूको जनसंख्या रहेको र जसमध्ये अधिकांश दार्जिलिङ, कालेबुङ, सिलगढ़ी, डुवर्स आदि क्षेत्रहरूमा बसोबास गरिरहेको बताइएको छ। जहाँ बौद्ध धर्मको समृद्ध सांस्कृतिक सम्पदा र इतिहास फस्टाउँदै गइरहेको र जसले गर्दा यी क्षेत्रहरू राज्यमा बौद्ध समुदायका लागि एक महत्त्वपूर्ण केन्द्र बन्नपुगेको संस्थाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
IHCNBT –ले पीढ़ी दर पीढ़ीसम्म हस्तान्तरण गरिएका प्राचीन अभ्यासहरू, शिक्षाहरू अनि अनुष्ठानहरूको संरक्षण गर्दै प्राचीन भारतको प्रसिद्ध नालन्दा विश्वविद्यालयको महत्त्वलाई दर्शाउने काम गरिरहेको जनाएको छ। यसका साथै, संस्थाले ध्यान, भिक्षु अनुशासन र दार्शनिक अध्ययन जस्ता बौद्ध धर्मका आध्यात्मिक पक्षहरूलाई मात्र नभई हिमाली बौद्ध पहिचानको अभिन्न अंगको रूपमा रहेको कलात्मक, वास्तुकला र सांस्कृतिक तत्वहरूको पनि संरक्षण गर्नेतर्फ जोर दिँदै आइरहेको पनि बताएको छ।
आफ्नो आउटरिच कार्यक्रम मार्फत्, IHCNBT -ले हिमालयका दुर्गम क्षेत्रहरूमा पनि नालन्दा बौद्ध परम्पराका विभिन्न परम्पराहरूलाई जोड्ने लक्ष्य राखेको बताइएको छ। अहिलेसम्म, IHCNBT -ले लद्दाख, सिक्किम, कालेबुङ, जेमेथाङ, शिमला, ताक्सिङ, टुटिङ लगायतका ठाउँहरूमा धेरै सम्मेलन र सेमिनारहरू आयोजन गरिसकेको उल्लेख गर्दै दार्जिलिङमा पनि सम्मेलन आयोजन गर्ने तयारी गरेको जनाएको छ।
Leave a Comment